काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् ।
आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएका हुन् । कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको भन्दै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सहयोगको सरकारले अपेक्षा गरेको पनि बताएको अर्का महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुगेका थिए । उनीहरुले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराएका थिए । अन्यथा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको महामन्त्री भट्टराईले बताए ।
विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै गएको भन्दै नेविसंघ नेताहरुले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
कञ्चनपुरकी किशोरी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो तर सरकारले घटनाका दोषी अझैसम्म पत्ता लगाउन सकेको छैन ।