भागरथीको बलात्कारपछि हत्याको दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको दोषीलाई यथाशीघ्र पहिचान गरी कारवाही गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भट्टको २०७७ माघ २१ गते बलात्कारपछि हत्या गरिएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो।

घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गरिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वार जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा उल्लेख छ, ‘उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण संकलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत समेत उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’

आयोगले प्रदेश कार्यालय धनगढीबाट अनुगमन टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीलाई घटनाको अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरेको जनाएको छ।

भागरथीको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा खोचलेक गिरेगाडा ग्रामीण सडकअन्तर्गत लवलेक जंगलमा हत्या गरी फालिएको थियो।