एजेन्सी – संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ।
पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरुद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ।
अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई यहाँको रक्षा मन्त्रालयले स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ। अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ।
सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले सो इमर्जेन्सी विभागका लागि एक हजार ११० जना सैनिक खटाउने भएको जानकारी गराइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यही फेब्रुअरी १५ सम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि १०० वटा खोप केन्द्रहरू सार्वजनिक स्थलहरूमा राखिने भएको छ।
यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरू र स्वास्थ्यकर्मीहरू खटाउने भएको अधिकारीहरूले जानकारी दिएका छन्।