राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि दोस्रो चरणको खेल हुँदै

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि दोस्रो चरणको खेल सुरु हुँदैछ। दोस्रो चरणको पहिलो खेलमा आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हारका साथै एक खेल बराबरी खेल्दै १३ अंक जोडेको छ। आर्मी तालिकाको दोस्रो स्थानमा रहेको छ। आर्मीले पहिलो चरणमा ३६ गोल गर्दा दुई गोल खाएको थियो।

यस्तै, पहिलो चरणमा एक खेल पनि नजितको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आज मैदान उत्रँदैछ। पहिलो चरणको खेल सकिँदा चौदण्डीगढी ६ वटै खेल हारेको थियो भने कुल ६२ गोल खाइसकेको छ।

जारी लिगमा अर्को विभागीय क्लब एपिएफ आफ्ना सबै ६ खेलमा जित निकाल्दै १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा विराटनगर महानगरपालिका १० अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

यसैगरी नेपाल पुलिस क्लब, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका क्रमश चौथो पाँचौ र छैटौँ स्थानमा रहेका छन्। (Thahakhabar)