नेपालका तीन चर्चित अभिनेत्री एकै साथ पर्दामा देखिदै

काठमाडौं – नेपालका तीन चर्चित अभिनेत्री ऋचा शर्मा, प्रियंका कार्की र बेनिशा हमाल पहिलो पल्ट एक साथ पर्दामा देखिने भएका छन् ।

उनीहरूको सहकार्य फिल्ममा देखिन लागेको भने होइन । तीनै जना देखिन लागेका हुन् वेब सिरिजमा । यही शुक्रबारबाट सुटिङ सुरु हुन गइरहेको ‘ओपेक’मा तीन हिरोइनले स्क्रिन सेयर गर्न लागेका हुन् ।

५ भागको यो सिरिजको निर्देशन भारतीय जोडी यस सैनी र माइरना जेम्सले गर्न लागेका हुन् । नेपाली भाषामा बन्न लागेको यो सिरिज भारतका ओटीटीमा रिलिज हुन सक्नेछ ।

अभिनेत्री ऋचा शर्माले हरर विधाको यो सिरिज अमेजनमा रिलिज हुन सक्ने सम्भावना रहेको बताइन् । ‘निर्माता्निर्देशकले अमेजनमा कुरा भइरहेको जानकारी दिनु भएको छ । अमेजन नभए अरु कुनै न कुनै ओटीटीमा रिलिज गर्ने गरी सुटिङ हुन लागेको हो,’ ऋचाले भनिन् ।

यस सैनी र माइरना जेम्स चन्डीगढ र उत्तराखण्डका हुन् । नेपाल घुम्न आएको बेला नेपाल मनपरेपछि उनीहरूले यतै बसेर फिल्म बनाउन लागेका हुन् । फिल्ममा निर्देशकबाहेक सम्पूर्ण प्राविधिक तथा कलाकार नेपाली रहेका छन् । माइरना जेम्सले यसअघि भने स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर ‘ओ स्कारलेट’ बनाइसकेकी छिन् ।

स्वस्तिमासँगै राजन खतिवडा, सुजाता गुरुङ आदि कलाकारको अभिनय रहेको सर्ट फिल्म सार्वजनिक हुन बाँकी छ । यो वेब सिरिजमा आयुष्मान जोशी, राजन खतिवडा, रबिन्द्र झा, गौरव विष्ट आदि कलाकारको पनि अभिनय रहनेछ । सिरिजलाई सुसन प्रजापतिले खिच्नेछन् ।(ekagaj.com)