कोरोनासँग जुध्न लाखौं संकलन गरेका मूरको कोरोनाकै कारण निधन

एजेन्सी – कोरोना भाइरससँग लड्न लाखौँ डलर जुटाएका क्याप्टेन सर टोम मूरको कोरोना भाइरस संक्रमणबाटै निधन भएको छ।

बेलायतका लागि आर्थिक संकलन गरिरहेका सय वर्षीय मूरलाई स्वास फेर्न समस्या भएको थियो। गत हप्ता अस्पतालमा भर्ना भएका मूरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। निमोनियाले ग्रसित मूरको उपचारकै क्रममा निधन भएको बीबीसीले जनाएको छ ।

सेनाबाट अवकाश पाएका मूरले सयौँ जन्मदिनका अवसरमा आफ्नो बगैँचाको सय फन्को लगाएका थिए। उनले ३.३ करोड पाउन्ड जुटाएर कोरोना संक्रमित बिरामी उपचार गर्न अस्पताललाई दिएका थिए।

उनको कामको प्रशंसा गर्दै बेलायती महारानी एलिजावेथले एउटा विशेष समारोहमा सम्मान समेत गरेकी थिइन्।