‘स्थानिय रुपमा परिचित खाद्यान्नलाई जंकफूडको प्रयोगले विस्थापित ग¥यो’

 सुर्खेत – स्थानिय रुपमा परिचित खाद्यान्नलाई जंकफूडको प्रयोगले विस्थापित गर्न थालेको बिज्ञहरुले बताएका छन् । बहुक्षेत्रीय पोषण योजना–२, बहु सहभागितामूलक योजना तर्जुमा तथा कार्यान्वयन परियोजनाद्वारा आयोजना गरिएको गोष्ठीको सहजिकण गर्दै डा बिकास लामिछानेले कर्णालीमा जंकफूडको प्रयोगका कारण बालबालिकामा कुपोषण बढेको बताए । प्रदेशमा पर्याप्त पौष्टिकतत्वले भरिपूर्ण खाद्यान्न छन् । तिनको प्रयोग गर्न नजान्दा कुपोषण बढ्दैगएको उनको भनाई छ । उनले भने, ‘हामीले छोराछोरीलाई चाउचाउ विस्कुटजस्ता जंकफुड दिने गरेका छौं । अब यसका बारेमा जनस्तरमा जनचेतना जगाउन आवश्यक छ ।’ वासी खाना खाने, खानामा आवश्यक तत्वलाई नमिलाएरै एकै खालको खाना खाने गर्नाले कुपोषणमा वृद्धि भइरहेको उनको भनाई छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हाल पुडकोपना हुनेको संख्या ४७.८ प्रतिशत रहेको छ । प्रदेश स्वाथ्यसेवा निर्देशनालयकि बरिष्ठ नर्सिंग अधिकृत मानकुमारी गुरुङ्गका अनुसार कर्णालीमा १७.६ प्रतिशतमा ख्याउटेपना देखिएको, ३७.४ प्रतिशत बालबालिकामा कम तौल भएको र ४८ प्रतिशत सुत्केरी आमा तथा बच्चामा रक्तअल्पता देखिने गरेको तथ्यांक मन्त्रालयसँग रहेको जानकारी दिईन ।

यसैबीच, स्याफ्रन नेपाल नामक संस्थाले लकडाउनको समयमा क्वारेन्टाईनमा बसेका नागरिकलाई विभिन्न बस्तु उपलब्ध गराएको बताएको छ ।सुर्खेतको बराहताल र चिंगाड गाउँ पालिकाका विभिन्न स्थानमा पाँच हजार सात सय दश प्याकेट सर्वोत्तम पिठो, दुइ हजार ८१५ प्याकेट मिक्स गेडागुडी, १६ हजार भन्दा बढि मास्क, ४८ वटा पौष्टिकता सम्वन्धी व्यानर, लेफलिट ४ हजार १५० पिस उपलब्ध गराएका बताईएको छ । यसका अलावा पौष्टिक आहारबारेमा नागरिकलाई जनचेतना जगाउने काम गरेको स्याफ्रन नेपाल संस्थाका शैलेन्द्र बिष्टले जनाएका छन् ।