डोल्पाका एक युवाले १ सय २१ घरधुरीलाई ग्यास र चुल्हो किनिदिए


डोल्पा – हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँमा ग्यास चुल्हो र सिलिन्डर बाँडेका छन्।

ठूलिभेरी नगरपालिका वडा नं ३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १ सय २१ घरधुरीलाई ग्याँस चुल्हो र सिलिन्डर वितरण गरेका हुन्।

व्यक्तिगत ९ लाख ६८ हजार रुपैयाँ खर्चेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीय राजबहादुर बुढाले जानकारी दिएका छन्‌। ​सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बुढाले जिल्लामै नमूना काम गरेको उनले बताए।

परम्परागत दाउरे चुल्होबाट निस्कने धुवाँधुलोबाट राहत मिलोस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा चुल्हो सहितको सिलिन्डर वितरण गरेको युवा मन बुढाले बताए।

घर व्यवहारमा गाँजिएका महिलाहरूलाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अगेनो चुल्होमा कष्टका साथ खान पकाउनुपर्ने अवस्था देखेर वितरण गरेको बुढाको भनाई छ। प्रत्येक दिन चाहिने दाउराको स्रोत जंगल नै भएकाले जंगलमा स्थानीयको निर्भता घटाई वनविनाश रोक्न पनि यो कदम चालिएको उनले बताए।

‘विश्वमा तीव्र रूपमा भइरहेको वन विनाशकै कारण जलवायु परिवर्तनका असरहरू दिनप्रतिदिन बढिरहेको छ, बढ्दो वन विनाशले पृथ्वीमा सजीव प्राणीको अस्तित्व समेत धरापमा पर्न थालेको छ,’ बुढाले भने।

ग्यास चुल्हो सहितको सिलिन्डर पाएपछि तिप्ला गाउँका सर्वसाधारणहरूले खुशी व्यक्त गर्दै बुढालाई धन्यवाद समेत दिएका छन्। – थाहाखबर