महामारीमा पनि काठमाडौं बसेर मासिक ४ लाख तलबभत्ता लिन्छन् कर्णाली प्रतिष्ठानका उपकुलपति

 जुम्ला–कर्णाली प्रदेशको सबैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख यति ठूलो स्वास्थ्य महामारीको समयमा प्रतिष्ठान नपुगेको झण्डै चार महिना हुन लाग्यो । फागुनको अन्तिम साता कर्णालीबाट काठमाडौं हिडेका प्रतिष्ठानका प्रमुख उपकुलपति प्रा.डा. राजेन्द्र वाग्ले यो समाचार तयार पार्दा समेत काठमाडौंमै छन् । तर, यति लामो समय कार्यलयमा उपस्थित नहुँदा पनि उनले कर्णाली प्रतिष्ठानबाट उपकुलपतिको नाममा तलब त ठीकै हो, दुर्गम भत्ता, अन्यत्र काम गर्न नपाउने भत्ता र प्रतिष्ठान भत्तासहितका अन्य सेवा सुविधा पनि नियमित लिइरहेकै छन् । तलब भत्ता बापत उनी प्रति महिना ३ लाख ९४ हजार २ सय ५० रुपैयाँ लिन्छन् । महामारीको समयमा काठमाडौंमा बसेर पछिल्लो तीन महिनामा उनले ११ लाख ८२ हजार ७ सय ५० रुपैयाँ बुझिसकेका छन् ।

यसमा पदाधिकारीले लिने सवारी इन्धन खर्च र संचार खर्च जोडिदैन् । प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीका अनुसार पदाधिकारी र कर्मचारी सबैको जेठ महिनासम्मको तलब भत्ता गइसकेको छ । उनका अनुसार कर्मचारीको तलब भत्ता नियमित हाजिरीका आधारमा हुन्छ भने पदाधिकारीहरुको तलब भत्ताका लागि हाजिर आर्थिक प्रशासन शाखामा बुझाउनु पर्दैन । ‘कर्मचारीको तलब भत्ता लिन हाजिरी अनिवार्य छ, यदि कोही विदा नलिई छुट्टीमा हुनु हुँदोरहेछ भने त्यो दिनको तलव काटिन्छ,’ उनले भने, ‘तर, पदाधिकारीको भने उहाँहरु आफै हाजिर गरेर राख्नुहुन्छ, तलव भत्ताका लागि हाजिरी चाहिदैन्, त्यो उहाँहरुकै कार्यकक्षमा हुन्छ ।’ ‘यत्रो महामारीको समयमा पनि किन काठमाडौनै बस्नुभएको ?’ भनेर  प्रतिष्ठानका उपकुलपति प्रा.डा. वाग्लेसँग जिज्ञाशा राख्दा उनले आफू काठमाडौं बसेर केन्द्रीय सरकार र प्रदेश सरकारसँग कोरोना जाँच्ने किटको विषयमा समन्वय गरिरहेको बताए ।

‘स्वास्थ्य मन्त्रालयमा कोरोना परीक्षण किट जुम्ला पठाउने विषयमा समन्वय गर्ने गरिरहेको छु,’ उनले भने, ‘प्रतिष्ठानको काठमाडौं सम्पर्क कार्यालयमार्फत जुम्ला प्रतिष्ठानसँग नियमित सम्पर्कमा रहने गरिएको छ ।’ उनले कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना संक्रमण बढी देखिएको र यसका  विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि सामाजिक विकास मन्त्रीसँग समन्वय गरी आवश्यक कोरोना परीक्षण किटका विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उनले दावी गरे ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले संकटको समयमा एक जना पदाधिकारी केन्द्रमा बसेर समन्वय गर्न आवश्यक रहेको भन्दैं उपकुलपतिको बचाउ गरे । ‘उहाँ काठमाडौंमा भएर समन्वय गर्न राम्रै भएको छ,’ उनले भने, ‘यहाँ नै हुनुभएको भएसँगै बसेर योजना बन्थ्यो । त्यहाँबाट पनि टेलिफोनमा त्यही कुरा हुन्छ, त्यति धेरै फरक छैन ।’ प्रतिष्ठानमा अचम्म लाग्ने त के छ भने पदाधिकारीको हाजिरी नै नभए पनि नियमित मासिक तलब भत्ता लिने परिपाटी छ । तर, अन्य कर्मचारीको भने एक दिन हाजिर नभए तलब भत्ता काटिन्छ । ‘पदाधिकारीहरु जति दिन जहाँ गएपनि महिना पुगेपछि खातामा तलब आउँछ । तर, कर्मचारीको हाजिरी गर्न एक दिन छुट्दा पनि काटिन्छ,’ एक कर्मचारी भन्छन्, ‘तलब भत्ता खाने सबैले अनिवार्य हाजिर गर्नुपर्छ भन्ने त सामान्य हो । यो नेपालको कुनै कानुनमा लेखिएको छ र ?’

डिन र निर्देशकले पनि कर्णाली नटेकी लिए तीन महिनाको तलब भत्ता

महामारीको समयमा उपकुलपति मात्र नभएर डिन र निर्देशक पनि लामो समय प्रतिष्ठानमा खुट्टा नै नटेकी तीन महिनाको तलव भत्ता बुझेका छन् । डिन डा. रेशमबहादुर राना तीन महिनापछि ७ असारमा प्रतिष्ठान उपस्थित भएका छन् । तर, उनले पनि चैत्र, बैशाख र जेठको तलब लिइसकेका छन् । त्यसैगरी, प्रतिष्ठानका निर्देशक धर्मराज गोसाई पनि महामारी सुरु भएपछिका तीन महिना कर्णाली टेकेका थिएनन् । उनी एक हप्ताअघि प्रतिष्ठान पुगेका हुन् । उनले पनि नियमित तलब भत्ता बुझ्दै आएका छन् । डिन डा. रानाले तलब भत्ता वापतको मासिक ३ लाख ७३ हजार २ सय रुपैयाँका दरले प्रतिष्ठानमा उपस्थिति नै नभई तीन महिनाको ११ लाख १९ हजार ६ सय रुपैयाँ बुझेका छन् । त्यस्तै, निर्देशक गोसाईले पनि ३ लाख ७३ हजार २ सय बुझ्छन् । सो आधारमा उनले पनि महामारीको समयमा अस्पतालमा एक दिन पनि उपस्थिती नभई ११ लाख १९ हजार ६ सय रुपैयाँ बुझेका छन् । उपकुलपतिसहित तीन जना पदाधिकारीले काठमाडाैं बसेर तलबका साथै दुर्गम भत्ता, नन—प्राक्टीस एलाउन्स र प्रतिष्ठान भत्ता भन्दै तीन महिनामा ३४ लाख २१ हजार ९ सय ५० रुपैयाँ बुझेका छन् । कोरोना महामारीसँगै कर्णाली छोड्नेमा प्रा.डा. भोलाराज श्रेष्ठ र प्रा.डा. तरुण पौडेल पनि पर्छन् । तर, उनीहरुको भने तलब भत्ता काटिएको छ ।हेल्थ आवाजबाट