आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। त्रिवि मैदान किर्तिपुरमा अर्को विभागीय क्लब सशस्त्रको एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलोपटक उपाधि उचालेको हो।

आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ४१ ओभर ३ बलमा मात्र १ सय ७८ रन बनाउन सक्यो। एपीएफका आसिफ शेखले सर्वाधिक ६१ रन बनाएपनि हार टार्न प्रयाप्त भएन । सन्दिप जोरा २९, शंकर राना २१, सुमित महर्जनले १९ रन बनाउँदा कप्तान शरद भेषावकर शुन्य रनमै आउट भए।

आर्मीका विक्रम सोव, जितेन्द्र मुखिया र शहाव आलमले समान ३/३ विकेट लिए भने शुसन भारीले १ विकेट खसाले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो।

आर्मीका हरि चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेल्दा राजेश पुलामीले २८, लोकेश बम १५, सुशन भारी र रोहित पौडेलले समान १३/१३, कप्तान विनोद भण्डारीले ७ रन मात्र बनाउँदा शहाव २५ रनमा अविजित रहे।

उपाधिसँगै आर्मीले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको एपीएफले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ। प्रतियोगितामा तीनवटा विभागीय क्लबसँगै सातै प्रदेशले सहभागिता जनाएका थिए।