मंगलबार जुम्लाको गोठीमा आगलागीबाट ३२ घर जलेर नष्ट, ६४ चौपाया जले

सुर्खेत – जुम्लाको तिला गाउँपालिका–७ को गोठी गाउँमा मंगलबार भएको आगलागीबाट ३२ घर जलेर नष्ट भएका छन् । मंगलबार बेलुकी साढे ५ बजे बस्तीमा आगो लाग्दा घरसहित १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएन ।

मंगलबार बेलुका करिब साढे ५ बजे आगलागी सुरु भएको थियो । चुलोको पाईपबाट आगलागी भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । स्थानीय परव रोकायको घरमा खाना पकाउने क्रममा हिमाली चुलोको पाइपबाट निस्किएको आगोको झिल्का छानामा पुगेर आगलागी सुरु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट ३२ घरधुरीका २५८ जना प्रभावित भएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको आपतकालीन बैठकले राहतका सामग्री लिएर घटनास्थलमा जाने निर्णय गरेको छ । प्रतिपरिवार ५ जना सदस्य भएको घरमा १५ हजार र ५ जनाभन्दा बढी परिवार भएका घरमा २० हजारका दरले नगद राहतसहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी थापालेका अनुसार, राहत सामग्री चामल, दाल, नुन, लत्ताकपडा लिएर घटनास्थल जाने तयारी भएपनि प्रदेशको टोली नआउने भएपछि रोकिएका हाे । अब बिहीबारमात्र त्यसतर्फ जाने उनले बताए ।