काठमाडौं – आइतबार सूर्यग्रहण देखिँदै छ । यो ग्रहण सूर्य केवल बालाको आकारमा मात्रै देखिने सूर्यग्रहण भएपनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने ज्योतिषीहरुले बताएका छन् ।
अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ । कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ ।
नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने बताइएको छ ।
पञ्चाङ्ग निर्णायक समितका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट बिहान १० बजेर ५० बाट सुरु भई अपरान्ह २ बजेर २३ मा समाप्त हुँदैछ ।
बिहानको १२ बजेर ३८ मा करिब ८८ प्रतिशत ढाकिएको हुनेछ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् ।
धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् ।
यद्यपी, सूर्यग्रहण खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर कदापि पनि अवलोकन गर्नुहुँदैन । यसो गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ ।
हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र अवलोकन गर्न सकिन्छ ।