एयरपोर्टको स्तब्ध पार्ने तस्बिर : जाँदा आकाशमा, आउँदा बाकसमा

काठमाडौं – वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो ।
एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो।

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।
निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । देशमा पर्याप्त रोजगारी नपाएर अवसरको खोजीमै विदेश पुगेका कतिपय नेपालीको सुन्दर सपना अधुरै बनेको मात्रै छैन अकालमै ज्यान गुमाउन समेत विवश छन् । सरकारले देशभित्रै पर्याप्त रोजगारीको सिर्जना गर्दै श्रमको उचित मूल्य दिनसके बाकसमा लाश बनेर आउनुपर्ने नियतिको अन्त्य हुने थियो कि ! – राताेपाटी