विश्वका ६० मुलुकमा देखियो कोरोनाको नयाँ प्रकार : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) कम्तीमा ६० मुलुकमा फैलिसकेको बताएको छ । पछिल्लो एक सातामा मात्र थप १० मुलुकमा कोरोनाको नयाँ प्रकार फैलिएको डब्ल्यूएचओले बताएको छ ।

डब्ल्यूएचओले बुधबार दिएको जानकारीअनुसार बेलायतबाट फैलिएको कोरोनाको नयाँ प्रकारको कारण विश्वभर कोरोना संक्रमण पनि बढेको छ । अहिलेसम्म कोरोनाबाट विश्वभर २० लाख मानिसको मृत्यु भइसकेको छ । नयाँ प्रकारको कोरोना फैलिएसँगै अहिले धेरै मुलुकहरु समस्यामा परेका छन् । अहिले धेरै मुलुक कोरोना विरुद्धको खोप धेरै मानिसहरुमा पुगेपछि संक्रमण नियन्त्रणमा आउने आशामा छन्।

डब्ल्यूएचओका अनुसार बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकारजस्तै दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको अर्को प्रकार पनि अहिलेसम्म विश्वका २३ मुलुकमा फैलिसकेको छ । डब्ल्यूएचओका अनुसार पछिल्लो एक सातामा विश्वभर कोरोनाको कारण ९३ हजारको मृत्यु भएको छ । एकैसातामा मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यो अवधिमा ४७ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ ।

बेलायतमा पाइएको कोरोनाको नयाँ प्रकार साधारण प्रकारको तुलनामा ५० देखि ७० प्रतिशतसम्म बढी संक्रामक हुने विशेषज्ञहरुले बताउँदै आएका छन् ।