सुर्खेतका यातायात व्यवसायीद्धारा सवारी बन्द

सुर्खेत – माघ ७ गते अर्थात आज बुधबार सुर्खेतमा यातायात व्यवसायीले सवारी बन्द गरेका छन् । सुर्खेतबाट संचालित आठ वटा यातायात व्यवसायीहरुले संयुक्त रुपमा १ दिन सवारी बन्दको घोषणा गरेका हुन् ।

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै वीरेन्द्रनगर नगरपालिकाको विरोधमा सवारी बन्द गर्ने व्यवसायीहरुले बताएका थिए । वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्कमा नगरपालिकाले छलफल नै नगरी २ वटा यातायात प्रा.लि.लाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो ।

हाल १० वटा यातायात व्यवसायीहरुको सहमतिमा इन्डोररुपमा टिकट काउण्टर सञ्चालन गरिरहेको अवस्थामा हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रा.लि.लाई नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहाना गरी साविकको काउण्टरको दक्षिण तर्फ आउट डोर काउण्टर सञ्चालन गर्नका लागि संरचना निर्माण गर्न दिएकोमा अन्य यायायात प्रा.लि.ले संयूक्त विज्ञप्ती मार्फत विरोध जनाएका हुन् ।

नगरपालिकाले आफैले कार्यविधी बनाउने अनी त्यही कार्यविधी विपरित संरचना बनाउने भन्दै देउती नागरिक यातायात प्रा.लि.का अध्यक्ष कमल खड्काले विरोध जनाए । त्यस्तै नमस्ते नेपाल यातायात प्रा.लि.का अध्यक्ष कार्लमाक्स श्रेष्ठले सरकारले सिण्डीकेट सिष्टम हटाइसकेको अवस्थामा पनि ठूला यातायात व्यावसायीहरुको नाममा नगरपालिकाले आफूहरुलाई पक्षपातपूर्ण व्यवहार गरेको बताए ।