काठमाडौं- नेपाललाई भारतले अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्र नेपाल आइपुग्ने भएको छ ।
खोप ल्याउने बारे थप जानकारी दिन काे लागि आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा र समय बारे जानकारी दिइने तयारी भएको उहाँले बताउनुभयो ।
भारतले आजदेखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाललाई दिन लागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ ।
खोप आए लगत्तै अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।