बुलबुले तालमा फसेको घाईते जरायोको उद्धार

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित पर्यटकिय स्थल बुलबुले तालमा फसेको घाईते जरायोको उद्धार गरिएको छ । घाईते भई अचेत अवस्थामा तालमा फसेको करिब तीन वर्षको जरायोलाई आईतबार बिहान उद्धार गरिएको हो ।

स्थानीयले तालको बिचमा जरायो फसेको देखेर खबर गरेपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरी उपचार थालेको हो । सहायक वन अधिकृत टेक रावलका अनुसार घाईते जरायो संरक्षित क्षेत्र काक्रेविहार जंगलबाट बाहिर निस्केर अचेत अवस्थामा डौडिदाँ बुलबुले तर्फ आई तारहरुमा ठोक्किएर घाईते भएको अनुमान गरिएको छ ।

जरायोको टाउकोमा चोट लागेको छ । जरायोको उपचारपछि निको भएको खण्डमा सोही जंगलमा छाडिने छ । पछिल्लो समय काक्रेविहार जंगलमा रहेका जनावर असुरक्षित बन्दै गएका छन् । रातीको समय जंगलमा चोरी शिकारी बढेपछि जनावर असुरक्षित भई बाहिर निस्कन थालेको स्थानीयको अनुमान छ ।