एजेन्सि-भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।
आउने जुलाइसम्ममा ३० करोडलाई खोप लगाइसक्ने योजनासहित खोप अभियान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र २७ करोड वृद्धवृद्धा र गम्भीर खालका बिरामीलाई खोप लगाइने छ । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । खोप अभियानलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप विकासका लागि वैज्ञानिकले कडा मेहनत गर्नुपरेको बताउनुभयो ।
यतिमात्र नभएर अन्तिम संस्कारमा समेत जान नसक्नु जस्तो अवस्थाको अब बिस्तारै अन्त्य हुने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री मोदीले भारतको खोप अभियान संसारकै सबैभन्दा ठूलो खोप अभियान भएको समेत बताउनुभएको छ ।
भारतका राष्ट्रकवि रामधारी सिंहले मानिसले मेहनत गर्यो भने पानी पनि ढुङ्गा बन्छ भनेजस्तै वैज्ञानिकको मेहनतका कारण खोप निर्माण सम्भव भएको मोदीले बताउनुभयो ।