देउती नागरिकका कर्मचारीलाई दोश्रो चरणमा नगदसहित खाद्यान्न वितरण

सुर्खेत- देउती नागरिक यातायात प्रा.लि. सुर्खेतले काउण्टरमा कार्यरत १९ जना कर्मचारीलाई मंगलबार दोश्रो चरणको राहत वितरण गरेको छ । १९ जना कर्मचारीलाई नगद ४७ हजारसहित खाद्यान्न राहत स्वरुप वितरण गरिएको हो । खाद्यान्नमा चामल, दश केजि दाल, पाँच प्याकेट तेल र दुइ केजी नुन दिइएको अध्यक्ष कमल खड्का जुनीले जानकारी दिए । ‘हाम्रा कर्मचारी कोही पनि भोकै नबसुन भन्ने उदेश्यका साथ हामीले दोश्रो चरणको राहत वितरण गरेका हौं । एक लाखको खाद्य सामाग्री र ४७ हजार नगद वितरण गरेका छौं ।’ उनले भने, ‘हाम्रो व्यवसाय मारमा परेको भएपनि हामीसँग जोडिएका कोही पनि लकडाउनका कारण समस्यामा नपरुन भन्ने उदेश्यले हामीले राहत दिएका हौं ।’

राहत पाएपछि काउण्टर इन्चार्ज सिंह खड्काले खुशी व्यक्त गरे । ‘अन्यत्र काम गर्ने कर्मचारीले एक पटक पनि राहत नपाउँदा हामीले दुइ पटक राहत पाएका छौं । यो हाम्रा लागि खुसिकाे कुरा हो ।’ उनले भने, ‘रोजगारी सुचारु नभएको समयमा कम्पनीले गरेको सहयोगका लागि हामी धन्यवाद दिन्छौं ।’