जिल्ला समन्वय प्रमुख सहित पाँच जना जुवा खालबाट पक्राउ

सुर्खेत –  रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित प्रहरीले पाँचजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका-१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला समन्वय प्रमुख बोहरासहित रुकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका-५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका-१, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २५ हजार दुई सय रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्मालेले जानकारी दिए । पक्राउ परेकालाई कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ।