चिसोको संक्रमणले ज्यानै जानसक्छ, यी हुन्, सुरक्षित हुने उपाय

डा. नवराज केसी बाल, रोग बिषेशज्ञ, कर्णाली प्रदेश अस्पताल सुर्खेत ।

बालबालिकाको स्वास्थ्य चेकजाँच गर्दै डा. केसी ।

सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतका बाल रोग बिषेशज्ञ डा. नवराज केसीका अनुसार चिसोको संक्रमणले बालबालिका तथा बयस्क व्यक्तिको पनि ज्यानै जानसक्ने खतरा हुन्छ । बढ्दो चिसोमा आफु र आफ्ना बालबालिका तथा घर परिवारको स्वास्थ्यमा ध्यान दिन उनको सुझाब छ । चिसोबाट सुरक्षित रहन मौसम अनुसारको कपडा लगाउनुका साथै नियमित खानपान र सरसफाईमा ध्यान दिनुपर्ने डा. केसीले बताए । यसैबिच डा. केसीको भनाई अनुसार तयार पारिएको एक सामाग्री ।

चिसोको संक्रमणले हुने खतरा र सुरक्षित रहने उपाय
मानिस स्वस्थ रहनका लागि ब्याक्टेरिया र भाइरससँगको सम्पर्कबाट पनि टाढा हुनुपर्छ । हिजोआज जाडो मौसम छ । यस समयमा विषेश गरी बालबालिका र वृद्धवृद्धालाई चिसोले बढी असर गर्छ । हामीले चिसो याममा बच्चालाई राम्रोसँग ध्यान दिन सकेनौं भने विभिन्न खाले रोग तथा समस्या देखापर्ने पनि सक्छन् । चिसोमा बिशेष गरी दम, एलर्र्जी, पखाला, लाग्ने तथा निमोनिया जस्ता समस्याहरु देखिनसक्छन् । जसले गर्दा छातीको संक्रमण, निमोनिया जस्ता रोगले बालबालिकाको ज्यानै जान सक्ने सम्भावना रहन्छ । त्यसमा पनि तीन महिना भन्दा साना बालबालिकालाई चिसोले चाडै समात्छ । कहिले काँही धेरै चिसो भयो भने हेर्दाहेदै मुटुको गति नै बन्द हुनसक्ने सम्भावना हुन्छ ।

चिसोबाट बचाउन बच्चाको शरीर सबै छोपिने गरी कपडा लगाइदिनुपर्छ । हातमा पञ्जा र कान छोपिने गरी टोपी लगाइदिने गर्नुपर्छ । एकदमै बाक्लो कपडा लगाउँदा अप्ठ्यारो हुन सक्छ । त्यसैले समयानुकूल कपडा लगाइदिनुपर्छ । बाक्लो कपडा एउटै लगाइदिनु भन्दा दुईवटा ठिक्कका कपडा लगाईदिनु बढी प्रभावकारी हुन्छ । बच्चाले दिशा, पिसाब गरेको छ, छैन पटक पटक हेर्ने र चिसो लाग्नदिनु हुदैन । सानो बच्चा छ, भने नियमित स्तनपान गराइराख्नुपर्छ । अन्य झोल खानेकुरामा पनि जोड दिनुपर्छ । बच्चालाई चिसोबाट बचाउन कोठालाई न्यानो बनाइराख्न आवश्यक छ । कोठा न्यानो बनाउँदा भेन्टिलेसनमा पनि ध्यान दिनुपर्छ । चिसो मौसममा बच्चाको उमेरअनुसार ध्यान दिनुपर्ने हुन्छ । नवजात शिशु छन् भने विशेष ध्यान दिनुपर्छ । जती बच्चा ठूलो हँुदै जान्छन् । उनीहरुलाई गर्नुपर्ने स्याहार त्यती कम हुँदै जान्छ । बढी जिम्मेवारी अनी रिस्क साना बच्चालाई हुन्छ ।

चिसोमा कसरी स्वस्थ रहने ?

१, हरियो तरकारीहरू खाने
हामीले चिसो समयमा हरियो तरकारीहरू तथा समय अनुसार फलफुलहरु प्रायप्त मात्रामा खाने गर्नुपर्छ । जसबाट भिटामिनहरू पाउनुका साथै सन्तुलित आहार कायम राख्न मद्दत गर्दछ । सबै बच्चाहरूलाई पर्याप्त मात्रामा भिटामिन डी युक्त खानेकुराहरु खुवाउनु पनि उत्तिकै आवश्यक छ । भिटामिन डीको कमीले हड्डीको विकास, हृदय समस्या, र कमजोर प्रतिरक्षा प्रणाली जस्ता लक्षणहरू निम्त्याउन सक्छ । कलेजो, पनिर, अण्डाको पहेलो भाग र दुधमा र सूर्यको प्रकाशमा भिटामिन डी पाइन्छ ।

२, नियमित व्यायाम गर्ने
व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका विरामीको संख्या बढ्दो छ । नियमित व्यायाम तालिका अनुसरण गरेर सक्रिय रहनुपर्छ । जसले गर्दा तनाव कम हुन्छ र हाम्रो प्रतिरक्षा क्षमता बढाई चिसोबाट बच्न मदतगर्छ ।

३, पर्याप्त सुत्ने
चिसोमा धेरै सत्नुपनि हुदैन र कम सुत्नुपनि हुदैन । हामीले प्रतिदिन सातदेखि आठ घण्टासम्म सत्नुपर्छ । पर्याप्त निदाईएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्छ भने अल्छि हुदाँपनि रोग लाग्ने जोखिम बढ्छ । त्यस्तै चिसोमा धेरै रक्सि खाने चलन हुन्छ त्यो गलत हो । कुनै पनि रक्सिले चिसोलाई टार्दैन । बरु चिसोमा खाएको रक्सिले गर्मीमा खाएको रक्सिले भन्दा दोब्बर हानी गर्छ । यसका साथै कसैलाई दिर्घ रोग जस्तै खोकी, दम, सुगर, प्रेसर छ भने चिसो मौसममा फुलोको खोप लगाउनुपर्छ । र सरसफाईमा विशेष ध्यान दिनुपर्छ । हामीले चिसोमा कम नुहाउने गछौ, यस्तो गर्नु हुदैन । घर आगन सफा राख्नुपर्छ । पटक पटक साबुन पानिले हात धुने अथवा सेनिटाइजरको प्रयोग गर्ने, सुरक्षित गरिएको पानी प्रयाप्त मात्रामा पिउने गर्नुपर्छ ।