प्रचण्डले भने – छलफल गरेर सहमतिमै जानुपर्छ भन्नेमा छु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि नेताहरुले पुनः परामर्श थालेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै परामर्श गरेका छन्।

पौडेले दिउसो १ बजे र नेम्वाङ बेलुकी ५ बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डसँगको भेटमा महासचिव पौडेलले पार्टीको समस्या समाधानका लागि थप गृहकार्य र सहमति गर्नुपर्ने बताएका थिए । २० गते सचिवालय बैठक बस्नुअघि छलफल र ठोस सहमति जुटाएर मात्रै बैठक बस्नुपर्ने बताएका थिए ।

नेम्वाङले अध्यक्षसँग छोटो भेटघाट गरेका थिए । भेटमा प्रचण्डले सहमति नै जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताएका थिए । उनले थप छलफलको आववश्यकता रहेको बताएका थिए ।

“अध्यक्षले बोलाउनु भएको थियो । छोटोभेटघाट भयो। उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने पक्षमा छु भन्नुभयो । छलफल गरेर सहमतिमा नै जानुपर्छ । म सहमतिमै जानुपर्ने भन्नेमा पुगेको छु । त्यसका लागि के कसो गर्ने भन्नेमा छलफल नै गर्नुपर्ने छ भन्नुभयो, प्रचण्डसँको छलफलबारे नेम्वाङले भने ।

आजै प्रधानमन्त्री र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटघाट पनि गरेका छन् । भेटमा नेकपा विवादबारे छलफल भएको बताइएको छ ।