जुम्लाको जिल्ला प्रशासन कार्यालय सिल

 

 

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासनमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले गएको बुधबार बेलुका एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने, ‘सेवा प्रवाह गर्दा सेवाग्राही समेतलाई संक्रमण फैलिने जोखिम हुने हुदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार अहिले जिल्लामा कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ । संक्रमितमध्ये ३९३ जना निको भएर घर फिर्ता भएका छन् भने जिल्लामा अझै ३९ संक्रमित रहेका छन् ।