काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे बीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता पछि फेंग्हे शितलनिवास पुगेका हुन् । आईतबार एकदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका चिनियाँ रक्षामन्त्रीले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटबार्ता गरेका थिए । सेनाको हेड्क्वार्टर जंगी अड्डामा प्रधान सेनापति थापाले फेंग्हेसँग सरकारको तर्फबाट कुराकानी र छलफल गरेका हुन् ।
चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा लामो सयम बिताएका छन् । चिनियाँ डेलिगेशन टिम र नेपाली सेनाबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम सुचारु गर्नेबारे छलफल भएको छ । पूर्वघोषित चिनको सैन्य सहयोगबारे पनि छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री सहितको २० सदस्यीय डेलिगेशन टिम आईतबार साँझ एयर चाईनाको विमानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।