सरकार जनताको भरोसा अनुसार चलेको छः अर्थमन्त्री पौडल

तिलोत्तमा- अर्थमन्त्री विष्णु पौडेलले जनताको भरोसा अनुसार सरकार चलेको बताएका छन् । “जनताले जे आशा र अपेक्षा गरेका थिए, सरकार सोही दिशामा अघि बढेको छ”उनले भने ।रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मण्टेश्वरी भवनको उदघाटत र छात्रावास भवन निर्माण शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको घोषणापत्रलाई कार्यान्वयन गर्ने गरी सरकार अघि बढेको पनि दावी गरे । तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसावले महत्वपूर्ण आयोजना हुने उनले बताए । तिनाउ, दानव कोरिडोरको जनस्तर र सञ्चारकर्मीबाट निगरानी गर्न आवश्यक पर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले रुपन्देही साँघुरिदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडि बढ्नु पर्ने बताए ।

यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तिनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणामा अगाडि बढाउन सकिने उनको भनाइ छ । महानगरको लागि गुरुयोजना बनाउनु पर्ने उल्लेख गर्दै त्यसका लागि सरकारको तर्फबाट आफुले सहयोग पु¥याउने प्रतिवद्धता उनले व्यक्त गरे । तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डिपिआरको तयारी भैरहेको बताउंदै २ सय विघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसावले महत्वकांक्षी रहेको बताए । उनले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर लाग्न जनप्रतिनिधिलाई अर्थमन्त्रीले आग्रह गरे ।

त्यस अवसरमा उनले गिर्वाण संस्कृति तथा साधारण माविको नमूना मण्टेश्वरी भवनको उदघाटन र छात्रावास भवनको शुभारम्भ गरेका थिए । अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि वजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताए । विकासको लागि वजेट माग गर्नु जनताको अधिकार भएको मन्त्री पौडेलको भनाइ छ । गिर्वाण स्कुलको भौतिक र शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले केपी ओली नेतृत्वको सरकारले आफ्नो पांँच वर्षे कार्यकाल पूरागर्ने दावी समेत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए । उनले नर्सरी, केजी र कक्षा १ को पढाईका लागि निर्माण गरिएको बालमैत्री नमुना मण्टेश्वरी भवनलाई अत्याधुनिक तीन तले बनाउने योजना रहेको र त्यसका लागि वजेटको अभाव रहेकाले तीनै तहका सरकारसँग वजेटको माग गरे । विद्यालयका शिक्षक कृष्ण पोखरेलले सबै क्षेत्रको सहयोगले विद्यालयले भौतिक प्रगतिसँगै शिक्षा क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गरे ।