च्याम्पियन्स लिग : युनाइटेडको शानदार जित, चेल्सी अन्तिम १६ मा

काठमाडौं – च्याम्पियन्स लिग फुबटबलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले शानदार जित निकालेको छ।

गएराति सम्पन्न खेलमा युनाइटेडले पाहुना टिम टर्कीस क्लब इस्तानबुल बासाकसेहिरलाई ४-१ गोलले पराजित गरेको हो। युनाइटेडको जितमा खेलको ७ औं तथा १९ औं मिनेटमा ब्रुनो फर्नान्डेज, ३५ औं मिनेटमा पेनाल्टीमार्फत मार्कुस रासफोर्ड र खेल सकिनै लाग्दा इन्जुरी समयमा ड्यानियल जेम्सले गोल गरे।

यता इस्तानबुलका लागि एकमात्र सान्त्वना गोल ७५ औं मिनेटमा डेनिज टुरुचले गरे।

यसै गरी गएराति नै भएको अर्को खेलमा युभेन्टसले फरेन्क्वाभारोसी टिसीलाई २–१ ले पराजित गर्दै युभेन्टस नकआउट चरणमा पुगेको छ। खेलको सुरुमा पछाडि परेको युभेन्टसको जितका लागि क्रिष्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे। अवे मैदानमा भएको खेलमा १९ औँ मिनेटमा टिसीका लागि म्यार्तो उजुनीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ३५ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे। यो उनको क्लब र राष्ट्रिय टिमबाट जीवनको ७४९ औँ गोल हो। युभेन्टसका लागि निर्णायक गोल भने इन्जुरी समयको दोस्रो मिनेटमा मोराटाले गरेका हुन्। यो खेलमा २–१ ले विजयी भएको युभेन्टसले चार खेलबाट ९ अंक बनाएको छ। यो जितसँगै युभेन्टस अन्तिम १६ मा पुग्ने पक्का भएको छ।

यसै गरी समूह इ को खेलमा चेल्सीले रेनेसलाई २-१ ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ भने यही समूहको अर्को खेलमा सेभिल्लाले एफके क्रानोस्कारलाई २-१ ले ने हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।