कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ। सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा ब्यापक अनियमितता पाइएको हो ।
बोदेबरसाइन नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएको सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको छ । सार्वजनिक गरेको खर्च विवरण अनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरिएको छ ।
गत बुधबार नगरपालिकाले कूल २ करोड २१ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको ३ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५ पिस लाइफबोय साबुनमा नगरपालिकाले ३ लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
यसको आलोचना भएपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले ९५ थान नभएर ९५ कार्टुन हुनुपर्नेमा गल्ती भएको प्रष्टिकरण दिएका छन् । यदी उनको कुरा मान्ने हो भने नगरपालिकाले एक थान साबुको २६ रुपैयाँ तिरेको छ । तर, नगरपालिकाले पुनः १० कार्टुन (१४४० थान) साबुन किन्दा चार लाख ३१ जार नौ सय ५५ रुपयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यस अनुसार नगरपालिकाले एक थान साबुनको २ सय ९९ रुपैयाँ खर्च गरेको छ ।
गोलमाल हिसाब प्रस्तुत गर्ने नगरपालिका अख्तियार दुरुपयोग आयोगको अनुसन्धानमा परेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।