बर्दिबास घटना : बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिकाकाे शव पोष्टमार्टमका लागि जनकपुर लगियो

महोत्तरीको बर्दिबासमा हत्या भएकी बालिकाको शवलाई पोस्टमार्टमका लागि जनकपुर लगिएको छ । बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको हो ।

मंगलबार दिउँसो स्थानीयले शव भेटेको ठाउँबाट उठाएर बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर दिनभर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो भने पछि आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लगेको रातोपाटीमा समाचार उल्लेख छ ।

प्रहरीले गोली चलाएपछि भीड तितरवितर भएको थियो भने ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनालाई काठमाडौँ पठाइएको छ । एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरिक्षक टीका बहादुर केसीले जानकारी दिए । प्रहरी हस्तक्षेपपछि अवरुद्ध राजमार्ग समेत मंगलबारै खुलेको छ ।