चितवनमा व्यावसायिक रूपमा पाल्न थालियो झिँगा

चितवन । व्यावसायिक रूपमा पशुपंक्षी पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। त्यसप्रतिको आकर्षण, त्यसबाट भएका फाइदाबारे पनि हामीले सुन्दै आएका छौं। तर कामै नलाग्ने वस्तु भनेर हेप्ने गरिएको ‘झिँगा’कोसमेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला।

पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउने उद्देश्यले चितवनमा व्यावसायिक रूपमै झिँगापालन सुरू गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १५ फूलबारीमा रहेको प्रांगारिक कृषि उत्पादन केन्द्रले ब्ल्याक सोल्जर फ्लाई ९बिएसएफ० नामको झिँगाको व्यावसायिक पालन सुरू गरेको हो। अंग्रेजी नामलाई नेपालीमा रूपान्तरण गर्दा ‘कालो सिपाही झिँगा’ हुन्छ।

राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग, चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रचार निर्देशनालय र पशु आहार विभागको प्राविधिक सहयोगमा विश्वविद्यालयका ५ जना विद्यार्थीले गरेको अनुसन्धानका आधारमा केन्द्रले झिँगा पाल्न थालेको प्रबन्ध निर्देशक चन्द्रप्रसाद अधिकारीले बताए।

गत असोज दोश्रो साता अनुसन्धानकर्ता तथा सहयोगी सबै निकायसँग सम्झौता गरेपछि व्यवसायिक रूपमा झिँगा पाल्ने र बिक्री वितरण गर्ने बाटो खुलेको अधिकारीले बताए। अनुसन्धान टोलीका संयोजक डा।विप्लव सापकोटाले सन् २०१८ बाट करिब दुई वर्ष लगाएर गरिएको अनुसन्धानबाट बिएसएफको लार्भा र प्युपा नेपालमा पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउन प्रभावकारी रहेको निष्कर्षमा पुगेको बताए।