भाइटिकाकै दिन दाङमा दाजुले चलाएको मोटरसाइकल दुर्घटनामा परेर सञ्चारकर्मी मनिषाकाे मृत्यु

सांकेतिक तस्बिर

दाङ – दाङमा भाइटिकाकै दिन दाजुले चलाएको मोटरसाइकल दुर्घटनामा परेर बहिनीको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निजासी सञ्चारकर्मी मनिषा लामिछानेको सवारी दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको हो ।

बिजौरीबाट उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा लुअअक ३९४६ नम्बरको स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत रहेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।