सुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि आइसीयुकाे अभाव

५० शैय्या थप गर्ने प्रदेश सरकारको तयारी

 सांकेतिक तस्वीरः एजेन्सी

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको उपचारका लागि आइसीयुको अभाव भएको छ । गम्भीर लक्षणसहितका बिरामीहरु बढिरहेकाले यहाँ सघन उपचार कक्ष लगायतका पूर्वाधारहरुको कमी देखिन थालेको हो । प्रदेशकै कोरोना अस्पतालका रुपमा घोषणा गरेर सक्रमितहरुको उपचारमा सक्रिय सेती प्रादेशिक अस्पतालले व्यवस्थान गरिरहेको ५० शैय्याको कोरोना अस्पतालमा बिरामीहरु भरिएका छन् ।

मंगलबारसम्म गम्भीर लक्षण देखिएका १७ जनाको आइसियुमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ स्रोत व्यक्ति हेमराज जोशीले बताए ।

‘प्रदेश सरकारले २० वटा थप भेन्टिरलेटर खरिद गरी हरेक जिल्ला अस्पतालमा दुई/ दुई वटाका दरले जडान गर्ने प्रक्रियामा छ,’ उनले भने, ‘तत्काल बिरामीको अवस्था हेर्दा आइसियु बेड थप्नुपर्ने आवश्यकता देखिएको छ ।’

धनगढीस्थित ५० शैय्याको अस्थायी अस्पतालमा ४८ जना कोरोना सक्रमितको उपचार भइरहेको छ। अस्पतालमा भर्ना भएकामध्ये कैलालीका ३७ जना, कञ्चनपुरका ४ जना, अछाम र डडेल्धुराका २/ २ जना र बझाङ, दार्चुला र बैतडीका १/ १ जना कोरोना सक्रमितको धनगढीमा उपचार भइरहेको छ । हाल १० हजार १ सय ५४ जना सक्रमित रहेको सुदूरपश्चिम प्रदेशमा ८ हजार ४ सय ८५ जना निको भएर घर फर्किसकेका छन् ।

 

संक्रमित बढेपछि धनगढीको कोरोना अस्पतालमा ५० शैय्या थपिँदै

कोरोना संक्रमितले धनगढीमा स्थापना गरेको कोभिड अस्थायी अस्पताल भरिएपछि प्रदेश सरकारले ५० शैय्या थप्ने तयारी गरिएको छ । ५० शैय्याको अस्थायी अस्पताल संक्रमितले भरिएपछि थप संक्रमितको उपचारमा चुनौती थपिएका बेला प्रदेश सरकारले शैय्या विस्तार गर्न लागेको हो ।

 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कोभिड अस्थायी अस्पतालमा थप ५० शैय्या विस्तार गर्न प्रक्रिया थालिएको जानकारी दिए । कार्कीका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यालयले शैय्या विस्तारका लागि आवश्यक पर्ने भवन निर्माणका लागि प्राविधिक अध्ययन थालेको छ ।

 

कार्यालयले शुक्रबारसम्म अध्ययन गरेर लागत स्टमेट पेश गरेपछि अन्य प्रक्रिया थालिने कार्कीले बताए । सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको कोभिड अस्थायी अस्पतालमा ५१ जना संक्रमितको उपचार भइरहेको छ ।

 

५० शैया क्षमता रहकोमा ५१ संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जटिल अवस्थाका १५ जनाको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ ।

 

१० शैय्याको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पिक व्यवस्था गर्दै २० शैय्याको बनाएको छ तर अस्पताल भर्ना भएका १५ जना संक्रमितलाई आईसीयूमा राखेपछि अब ५ वटा वैकल्पिक शैय्या मात्र खालि छन् ।

 

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैय्या संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार गर्ने भन्ने चुनौती थपिएको छ । लक्षण सहितका आइसियु र भेन्टिलेटरमा राख्नु पर्ने बिरामी बढ्न थालेपछि चुनौती थपिएको र तत्काल उपकरण र दक्ष जनशक्ति व्यवस्थापन हुन नसके बिरामी समाल्नै समस्या हुने सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले बताए ।

 

अन्यत्रका अस्पतालमा तत्काल आईसीयु र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ । सामाजिक विकास मन्त्रालयले भने अन्य अस्पतालमा पनि भेन्टिलेर र आईसीयु सेवा उपलब्ध भएपनि जनशक्ति अभावका कारण समस्या भएको दाबी गरेको छ ।

मन्त्रालयका प्रवक्ता कार्कीले जनशक्ति अभावमा भएका उपकरण समेत सञ्चालन गर्न नसकिएको बताए ।

 

२२ जना संक्रमितको अस्पतालमा मृत्यु

सुदूरपश्चिम प्रदेशमा २२ संक्रमितको मृत्यु अस्पतालमा भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा १४ जना, अछाममा २ जना ,बाजुरामा १ जना , बझाङमा १ जना ,डोटीमा १ जना , दार्चुलामा १ जना, डडेल्धुरामा १ जना, कंचनपुरमा १ जना को उपचारको क्रममा मृत्यु भएको हो ।

 

त्यस्तै , कोरोना संक्रमण देखिएपछि २ जनाले आत्महत्या गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार बझाङमा १ जना र बाजुरामा १ जना ले आत्महत्या गरेको हुन्। सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ ।

 

निर्देशनालयका अनुसार बझाङमा २ ,कैलालीमा १ ,बाजुरामा १, रबैतडीका भारतबाट घर फर्किदै गरेका १ जनाको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेशमा लक्षण बिहिन १५ जना र लक्षण सहितका १२ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।