९० हजारको परीक्षण, ६ हजार सङ्क्रमित

कर्णाली प्रदेशमा ९० हजार नागरिकको आरटी पिसीआर परीक्षण गरिएको छ ।

पिसीआर परीक्षण गरिएका व्यक्तिहरुमध्ये ४७ जना सङ्क्रमित थपिएसँगै छ हजार २६८ जनामा सङ्क्रमण देखिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म हालसम्म कर्णालीमा पाँच हजार ६०१ जना निको भएर घर फर्केका छन् । आरटी पिसीआर परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको र त्यसमा ८९ प्रतिशत निको भई घर फिर्ता भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

‘पिसीआर परीक्षण सबैभन्दा बढी कर्णाली प्रदेश अस्पताल सुर्खेत ४६ हजार ३१६ गरेको छ,’ उनले भने, ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २७ हजार ३१८ र बाँकी दैलेख, रुकुमपश्चिम चौरजहारी अस्पताल, राप्ती, भेरी, नेपालगञ्ज मेडिकल, अछाम र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसीआर परीक्षण गरिएको थियो ।’

कुल परीक्षणमध्ये ८२ हजार ४३२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भने, ‘भदौअघि सङ्क्रमण मात्र देखिने बिरामीमा पछिल्लो समयमा लक्षणसहित सङ्क्रमण देखिन थालेको छ । साउनसम्म कोरोना सङ्क्रमणबाट छ जनाको मृत्यु भएकामा त्यसयता १० व्यक्तिले ज्यान गुमाउनुपरेको छ ।’ उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना पुष्टि भएका ४७ व्यक्तिमध्ये २४ जना सुर्खेत, जाजरकोट, दैलेख र जुम्ला, दुई÷दुई, रुकुमपश्चिम एक र अन्य प्रदेशका १६ छन् । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४६ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको प्रमुख शाहीको भनाइ छ ।

जिल्लागत आधारमा हालसम्म कोरोना सङ्क्रमित व्यक्तिहरुमा सुर्खेतका दुई हजार ७०७, दैलेखका एक हजार ५४९, सल्यानका ५२२, जुम्लाका ३४२, कालिकोटका ३०७, रुकुमपश्चिमका १९०, जाजरकोटका ११२, हुम्लाका ३४, मुगुका ३३, डोल्पाका १५ र अन्य प्रदेशका ४५५ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ । रासस