वीरेन्द्रनगर— कोभिड-१९ को संक्रमण अझै बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारको समयमा कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न आग्रह गरेको छ ।
प्रशासनले तिहार लगायत स्थानीयस्तरमा मनाइने मेलाहरुमा हुल जमघट, तथा भेलाहरु नगर्न र नगराउन आग्रह गरेको हो । देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ ।
कोभिडको संक्रमण अझै बढ्ने र सामाजिक विकृती तथा घटना, दुर्घटनामा वृद्धि हुने भन्दै कुनैपनि गतिविधि नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । साथै तिहारमा आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै ज्वलनशील पदार्थहरु बेचबिचन र प्रयोगन नगर्न आम नागरिकलाई आग्रह गरिएको उनको भनाइ छ ।