नागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाकाे भनाई

चन्द्रा कँडेल

 सुर्खेत– राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले नागरिकलाई कोरोनाबाट जोगाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश सभाले आयोजना गरेको कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमल्सिनाले नागरिकलाई कोरोनाबाट जोगाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

 

कोरोनाको महामारीको समयमा जनतालाई जोगाउन र कोभिड– १९ नियन्त्रणमा लाग्न हरेक जनप्रतिनिधिहरु जनतासँग जोडिनु पर्ने उनको भनाई छ । यसका लागि सबै सांसद तथा जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रमा गई जनतालाई सहि सुचना दिन उनले आग्रह गरे । ‘सामाजिक दुरी कायम गरौँ, माक्स सही रुपमा लगाउ,’ उनले भने, ‘जनप्रतिनिधिप्रति नागरिकको ठूलो विश्वास रहेको हुन्छ । नागरिकले हामीले गरेको काम तथा व्यवहार छिटो सिक्ने भएकाले आफुले पनि सही रुपमा स्वास्थ्य साबधानी अपनाआंै, सामाजिक दुरी कायम गर्न, मास्क सही रुपमा प्रयोग गर्न र नमस्कार गरेर सम्मान गर्न नागरिकलाई सिकाऔं ।’

 

अध्यक्ष तिमल्सिनाको सातैै प्रदेशमा प्रदेश सभा सदस्यहरुसँग अन्तक्रिया गर्ने योजना रहेको छ । सम्भव भएसम्म हरेक पालिकामा यो कार्यक्रम सञ्चालन गरी नागरिकलाई जोगाउने अभियान सुरू गर्ने उनले बताए । भर्चुअल माध्यमबाट भन्दा पनि दुरी कायम गरेर भौतिक रुपमै यस्ता अभियान सञ्चालन गर्नु पर्ने उनको भनाई छ ।

 

 

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कोरोनाले आगामी दिनमा आउन सक्ने ठूला महामारीबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने शिक्षा दिएको बताए । यसका साथै महामारीको उपचारको सन्दर्भमा जनता र सरकारका बीचमा असझदारी कायम भइरहेको अवस्थामा प्रदेश सभा सदस्य तथा जनप्रतिनिधिले पुलको रुपमा काम गर्नुपर्ने उनको भनाई छ । साथै जनताको आत्मबल बढाउन यो अभियान प्रभावकारी हुने उनको अपेक्षा गरेको बताए ।

 

सरकारले अहिले पालिका स्तरमा स्वास्थ्य सेवामा पहुँच पुर्याइरहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताए । ‘कर्णालीमा एक्सरे समेत नभएको जिल्लामा भेन्टिलेटर र आइसियू कक्ष स्थापना गरेका छौ,’ उनले भने, ‘एक अर्बको कोभिड कोष स्थापना गरेका छौ । कर्णालीका हरेक नागरिकको उपचार सरकारले नै गर्ने छ ।’