स्पेनिस ला लिगाको शीर्ष स्थानमा एट्लेटिको

काठमाडौं – युवा खेलाडी जाओ फेलिक्सको दुई गोलको मद्दतले स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले काडिचलाई ४-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जाओ फेलिक्सले दुई गोल गरे । त्यस्तै मार्कोस लोरान्टे र लुइस सुआरेजले समान एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमा फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए । २२औं मिनेटमा लोरान्टेले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

५१औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जिततर्फ लिए । ९०औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४-० को जित दिलाए ।

जितसँगै लिगमा ७ खेल खेलेको एट्लेटिकोले १७ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित काडिचको ९ खेलबाट १४ अंक छ ।