द्वन्द्व पीडित महिला नेपाली कागज बनाउँदै

कैलालीको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् । महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् ।

द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज निर्माण कार्य थालेका हुन् । टीकापुरमा ३९ सदस्यीय द्वन्द्वपीडित महिला सञ्जाल निर्माण भएको छ । सञ्जालले घाइते तथा अन्य काम गर्न नसक्ने १० जना महिलालाई उद्योगमा रोजगार दिएको छ । आम्वासकी कृष्णादेवी चौधरी अहिले घरबाटै नेपाली कागजको लिफाफा अथवा खाम बेच्छिन् । गाउँमै पाइने केराको थामबाट नेपाली कागज उत्पादन गरी खाम तयार गरेर उनले घरबाटै बेच्न थालेकी हुन् । ‘‘हामी १० जना महिला काम गर्छौँ । अन्य व्यवस्थापनको काम सञ्जालले गर्छ’’, कृष्णादेवीले भनिन्, ‘‘बजारको चिन्ता छैन, खाम र कागज नै किन्नेहरु घरै पुग्छन्, अन्य ठाउँबाट पनि माग आउन थालेको छ ।’’

कागज बनाउन गाउँ घरमा सहजरुपमा पाइने केराको थाम, बावियो र लोक्ताको प्रयोग गरिन्छ । प्रशोधनसहित महिलाले गाउँमै नेपाली कागज उत्पादन गरिरहेका छन् । अन्य रोजगार गर्न नसक्ने घाइते महिलाले सामूहिक रुपमा नेपाली कागज उत्पादन गर्ने कार्य गरिरहेका द्वन्द्व पीडित महिला आशा चौधरी बताइन् ।

टीकापुर नगरपालिकाले प्रभावित महिलाका लागि रु पाँच लाख सहयोग गरेपछि उनीहरुले उद्योग खोलेका हुन् । महिलाले विसं २०७६ वैशाख १० गतेबाट तालिमपछि उद्योग सञ्चालन गरेका हुन् । नगरपालिकाले महिलाले व्यवसाय सञ्चालन गरेकाले थप सहयोग गर्ने बताएको छ ।