तिलाका विद्यालय खुल्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने भएको छ ।

सो पालिकामा माध्यामिक तहमा विद्यार्थीको सङ्ख्याका आधारमा समूह विभाजन गरी प्रत्येक दिन ५० प्रतिशत विद्यार्थी कक्षामा सहभागी गराएर पठनपाठन गर्न लागिएको हो ।

कोरोना भाइरसका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय खुल्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए । गाउँपालिकाको यही कात्तिक १९ गतेको शिक्षा समितिको निर्णयले कात्तिक २३ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो ।

लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए । रासस