काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरूलाई बोलाएका छन् । प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्यलाई पार्टी मुख्यालय धुम्बाराही बोलाएका हुन् ।
“पार्टी अध्यक्ष प्रचण्डले दिउँसो ३ बजे पार्टी कार्यालयमा बोलाउनुभएको छ,” वरिष्ठ नेता झलनाथ खनालले बाह्रखरीसँग भने, “यो अनौपचारिक बैठक हो ।”
तर, प्रधानमन्त्री ओली बैठकमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । “यो पार्टी कमिटीको बैठक होइन, पार्टी कार्यालयमा बैठक बस्ने भनेर प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग छलफल पनि भएको छैन । महासचिवले औपचारिकरूपमा बैठक बोलाउनु पनि भएको छैन,” प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रचण्डनिकट सचिवालय सदस्यले भने यसलाई ‘औपचारिक बैठक’ कै संज्ञा दिए । “पार्टी अध्यक्षले बैठक बोलाएर पनि यो औपचारिक नै हो,” एक नेताले भने ।
शुक्रबार बिहान पार्टी अध्यक्ष प्रचण्डले पार्टी संसदीय दलका उपनेता नेम्वाङसँगको भेटमा आज सचिवालय सदस्यहरूसँग छलफल गर्ने जानकारी दिएका थिए ।
“सचिवालयका अरू नेतासँग भेटघाट, अनौपचारिक कुरा गर्छु, धुम्बाराहीमै,” प्रचण्डको भनाइ उद्धृत गर्दै नेम्वाङले बाह्रखरीसँग भने, “ब्रिफिङमा तपाईंसँग भएको कुराकानी पनि जानकारी गराउँछु । त्यसपछि शुक्रबार अथवा शनिबार बालुवाटार आउँछु भनेको थिएँ । केके चर्चा भएछ ।”