काठमाडौं – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सम्मान गारत निरीक्षण गरे ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि नरवणे हिजो काठमाडौं आइपुगेका हुन् । सेनाध्यक्ष नरवणेले आजै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपेका छन् । लगत्तै प्रधानसेनापति थापा र नरवणेबीच औपचारिक भेटवार्ता सुरु भएको हो ।
यसअघि उनीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । दुई देशबीचको सुरक्षा सहयोग आदान-प्रदानसम्बन्धी तेह्रौं बैठकमा भएको सहमतिअनुरुप नरवणेले सैनिक मुख्यालयमा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
नेपाली र भारतीय सेनाबीच एक-अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।