ट्रम्प–बाइडनको आ–आफ्नो जीतको दाबी, अहिलेसम्म के–के भयो ?

एजेन्सी- अमेरिकामा मतदान समाप्त भइसकेको छ र डोनल्ड ट्रम्प र जो बाइडन दुबैले अमेरिकी राष्ट्रपति पदको जीतको घोषणा गरेका छन् ।

यद्यपि, अहिले पनि अन्तिम परिणाम आउन बाँकी छ र दुबै उम्मेद्वारले कानूनी कारवाही गर्ने घोषणा गरेका छन् ।

ट्रम्पका प्रतिनिधिले जर्जिया, पेन्सिल्वेनिया र मिशिगनमा कानूनी कारवाही सुरु गरेका छन् ।

राष्ट्रपति ट्रम्पले जहाँ मतपत्रमा धोका भएको छ त्यहाँ मतगणना रोकिनुपर्ने बताएका छन् । यद्यपि, उनले यसको कुनै प्रमाण पेश भने गरेका छैनन् । अन्तरराष्ट्रिय पर्यवेक्षकले पनि व्यापक चुनावी घोटालाको कुनै प्रमाण नभएको जानकारी दिएका छन् ।

बीबीसीले बाइडनले मिशिगनमा जितेको अनुमान गरेका छन् । साथै अमेरिकी मिडियाले उनले विस्कन्सिनमा पनि जीत हासिल गरेको अनुमान गरेका छन् । पेन्सिल्वेनियाको विषयमा अहिले कुनै परिणाम आएको छैन ।

तीन राज्यमा जितेपछि बाइडनको जीत पक्का हुनेछ ।

के भन्छन् यी दुई ?

बुधबार दिउँसो बाइडनले डेलावेयरमा भने, ‘जब मतगणना समाप्त हुनेछ तब हामीलाई विश्वास छ कि हामी जित्नेछौं ।’

उनले भने, ‘म एक अमेरिकी राष्ट्रपतिको रुपमा शासन चलाउनेछु । राष्ट्रपति पद आफैंमा कुनै पक्षपातपूर्ण संस्थान होइन ।’

यस्तै पेन्सिल्वेनियाको विषयमा स्थिती अहिले नै स्पष्ट छैन । राष्ट्रपति ट्रम्पका क्याम्पेन म्यानेजर बिल स्टेपियनले भने, ‘हामी पेन्सिल्वेनियामा जीतको घोषणा गरिरहेका छौं । यो कुनै भावनाको आधारमा नभई गणितको आधारमा हो । यदि हामी सबै कानूनी मतपत्र गन्छौं तब हामी जित्नेछौं ।’

ट्रम्प क्याम्पेनका वरिष्ठ सहयोगी जेसन मिलर भन्छन्, ‘यो हप्ताको अन्त्यसम्म पूरा देश स्पष्ट हुनेछ कि राष्ट्रपति ट्रम्प र उप–राष्ट्रपति पेन्स अबको चार वर्षका लागि छानिनेछन् ।’

ट्रम्पले जित्लान् ?

ह्वाइट हाउस पुग्नका लागि २७० इलेक्टोरल कलेज भोटको आवश्यकता हुन्छ जसमा बाइडनको अग्रता छ । डेमोक्रेट्ससँग यतिबेला २४३ भोट र रिपब्लिकन्ससँग २१४ भोट छ ।

यदि ट्रम्पले विस्कन्सिन हार्छन् भन उनले जर्जिया, नर्थ क्यारोलाइना, पेन्सिल्वेनियाका साथै एरिजोना वा नेवाडामध्ये एक राज्य जित्नुपर्नेछ ।

राष्ट्रपति ट्रम्पको यतिबेला नर्थ क्यारोलाइना र जर्जियामा एक–एक पोइन्टको अग्रता छ जबकी नेवाडामा कडा प्रतिस्पर्धा छ । ट्रम्पका प्रतिनिधिलाई विश्वास छ कि एरिजोन उनीहरुको हातमा आउनेछ ।

यद्यपि, कन्जरभेटिभ स्टेट मानिने एरिजोनामा बाइडनको तीन पोइन्टको अग्रता छ । (बीबीसी)