मतपरिणाम आउन बाँकी राज्यको अवस्था यस्तो छ ! बाइडेन २४३-ट्रम्प २१४

बीबीसी – अमेरिकाका ४३ राज्यमा राष्ट्रपति निर्वाचनका लागि खसेका मतको गणना पूरा भएको छ। पछिल्लो मतपरिणाममा पनि डेमोक्रेटिक उमेदवार जो बाइडेनको अग्रता कायमै छ ।

बीबीसीका अनुसार ४३ राज्यमा सम्पन्‍न मतगणनाको परिणामले बाइडेनको पक्षमा २४३ र ट्रम्पको पक्षमा २१४ इलोक्ट्रोरल कलेज छ । राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।

मत परिणाम आउन बाँकी राज्यहरु
एरिजोना : पारम्परिक रूपमा यो राज्यमा रिपब्लिकन पार्टी विजयी हुँदै आएको छ । तर, यसपालि यहाँ फरक तस्बिर देखिएको छ । एरिजोना राज्यमा ८६ प्रतिशत मतगणना भइसकेको छ । जसमा बाइडेन अगाडि देखिएका छन् ।

जर्जिया : यो राज्य पनि पारम्परिक रूपले रिपब्लिकन पार्टीको गढ मानिन्छ । यसपटक यहाँ पनि कडा प्रतिस्पर्धा देखिएको छ । ट्रम्प यहाँ सामान्य मतले अगाडि छन् । तर, एटलान्टा र आसपासका क्षेत्रको मतपेटिका गणना हुन बाँकी छ ।

उत्तरी क्यारोलिना : यसको पहिचान स्विङ स्टेटका रुपमा छ । अर्थात् यहाँ दुवै पार्टीको जित हुँदै आएको छ । उत्तरी क्यारोलिनामा ९५ प्रतिशत मतको गणना पूरा भइसकेको छ । यहाँ ट्रम्प ५०.१ प्रतिशतले अगाडि छन् भने बाइडेनको पक्षमा ४८.७ मत आएको छ ।

नेवाडा : बाइडेनलाई यहाँ कडा चुनौती मिलेको छ । जुन अनुमान गरिएभन्दा विपरीत हो । यहाँ पनि उनी सामान्य मतले अघि छन् ।

विसकन्सिन : २०१६ मा ट्रम्पको जितभन्दा अघि यहाँ दुई दशकसम्म डेमोक्रेटिक पार्टीले जितेको थियो । यहाँ लगभग सबै मतको गणना पूरा भइसकेको छ । बाइडेन अत्यन्त थोरै मतान्तरले अगाडि छन् । तर, ट्रम्प पक्षधरले यहाँ पुनः मतगणनाको माग गरेका छन् ।

मिसिगन : यहाँ पनि कडा प्रतिस्पर्धा देखिएको छ । बाइडेन यहाँ पनि कम अन्तरले अगाडि छन् । तर, मतगणना पूरा भइसकेको छैन ।

पेन्सल्भेनिया : यहाँ इलेक्टोरल कलेजका २० भोट छन् । सोही कारण यो राज्य अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । ट्रम्पको यहाँ अग्रता छ । पेन्सल्भेनियामा पोस्टल ब्यालेटको गणना बाँकी छ ।