सिमकोट– हुम्लाको सर्केगार्ड र सिमकोट गाउँपालिकाका सबै विद्यालयमा बुधबारबाट पठनपाठन सुरु भएको छ।
दुवै गाउँपालिकाका शिक्षा समितिले कोरोना त्रास कम भएको निष्कर्ष निकाल्दै वार्षिक परीक्षा सञ्चालन गर्ने समय आएको हुँदा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालयमा पठनपाठन सुरु भएको हो।
बाल मन्दिर माविका शिक्षक मधु बस्नेतका अनुसार पठनपाठन भएको पहिलो दिनमै ८० प्रतिशत विद्यार्थीको उपस्थिति रहेको छ। माध्यमिक विद्यालयमा भन्दा आधारभूत तहमा विद्यार्थीको उपस्थिति केही कम रहेको बस्नेतले बताए।
बस्नेतले सबै विद्यार्थीलाई माक्सको अनिवार्य प्रयोग र विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने व्यवस्था गरिएको बताए। शिक्षकले पनि अनिवार्य मास्क प्रयोग गर्नु पर्नेछ।
सिमकोट गाउँपालिकाका सामुदायिक र संस्थागत गरी २८ वटा विद्यालयमा पठनपाठन भएको सुरु भएको छ।
यस्तै शिक्षा विकास तथा समन्वय एकाई प्रमुख विष्णु बहादुर शाहीका अनुसार जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका ३० वटा विद्यालयमा पनि बुधबारबाट पठनपाठन सुरु भएको छ।
यसअघि नाम्खाका १६ र ताँजकोट गाउँपालिकाका १८ विद्यालयमा पठनपाठन सुरु भइसकेको छ। खार्पुनाथ गाउँपालिकामा कात्तिक २५ गतेबाट पठनपाठन सुचारु हुने भएको छ।