अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे पूरा विश्वमा जस्तै नेपाल र नेपालीको चासो पनि बढेको पाइन्छ।
अमेरिकाको उचारचढावपूर्ण सम्बन्ध रहेको चीनसँग नेपालको सीमा जोडिएको र भूराजनीतिक अवस्थाले गर्दा उक्त चुनावप्रति कूटनीतिक सरोकार पनि राख्ने गरेको पाइन्छ।
अनि नेपाल जस्तो देशले अमेरिकामा हुने गरेको चुनावी प्रक्रिया र त्यसमा प्रयोग हुने प्रविधिबाट शिक्षा लिनुपर्ने मत राख्नेहरू पनि छन्।
आज के के भयो?
मतगणनाको अवस्था, उम्मेदवारका दाबी र अहिलेसम्मको अपडेट
तपाईँले भर्खर अमेरिकी निर्वाचनको नतिजा हेर्न खोज्नुभएको हो भने मतदानपछि अहिलेसम्म के भयो भन्ने जानकारी यसप्रकार छ:
मतपरिणामलाई असर गर्नसक्ने केही राज्यहरूको नतिजा आइसकेको छैन तर दुवै उम्मेरवार डोनल्ड ट्रम्प र जो बाइडनले आफू विजयको बाटोमा रहेको घोषणा गरेका छन्।
अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुन २७० इलेक्टलर मतको आवश्यक पर्छ। अहिलेसम्म बाइडनले २२४ र ट्रम्पले २१३ त्यस्तो मत प्राप्त गरेका छन्। कडा प्रतिस्पर्धाको अर्थ हुलाकमार्फत् गरिएको मतदान निर्णायक हुनसक्ने देखिएको छ।
पेन्सिल्भिया, मिशिगन र विस्कन्सिनको नतिजा निर्णायक हुनसक्ने तर त्यहाँको नतिजा आउन केही दिन लाग्नसक्ने छ।
ट्रम्पले आफूले जितेको दाबी गर्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन्। तर के कुरामा चुनौती दिने भनेर स्पष्ट भनेका छैनन्।
उपराष्ट्रपति माइक पेन्सले भने ट्रम्पको भनाइलाई मन्थर पार्न सबै कानुनी मतको गणना हुने बताउँदै अहिल्यै विजय घोषणा गर्न अस्वीकार गरेका छन्।
बाइडनको अभियान समूहले ट्रम्पले गणना गर्न बाँकी रहेका मतका बारेमा गरेको टिप्पणी गलत भएको भन्दै कडा आलोचना गरेको छ।
बाइडनले सम्बोधन गर्नै यो निर्वाचन अन्तिम मत नगनिएसम्म नसकिने र आफू विजयको बाटोमा रहेको बताएका छन्।