ख्याल गर्नुस् है तपाईँको निगरानी सीसी क्यामराले गर्दैछ !

२४ सैं घण्टा प्रहरीको निगरानी

सुर्खेत – कतै बजारमा तपाइँ आफूखुसी मनलाग्दी गरिराख्नु भएको त छैन् ? यति मात्रै हैन् सडकहरुमा तिव्रगतिमा सवारी हाक्नु भएको छ भने होस पु¥याउनुहोस् है ! तपाईको निगरानी सीसी क्यामराले गरिरहेको छ ।

आभोर स्पीडमा सवारी चलाउने, चौक तथा टोलहरुमा शंकास्पद गतिविधि गर्ने, बजारमा क्षेत्रमा मनलाग्दी गर्नेलाई कारवाही गर्न वीरेन्द्रनगर नगरपालिकाले नगरका विभिन्न स्थानमा ८९ ओटा सीसी क्यामरा जडान गरेको छ ।

वीरेन्द्रनगरका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामराहरुको निगरानी कक्ष ।
तर यसको सबै निगरानी (कन्ट्रोल) जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ । अपराधिक घटनाहरु तत्कालै पत्ता लगाउन, नागरिक र बजारको सुरक्षार्थ नगरका विभिन्न स्थानमा सीसी क्यामरा जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

‘गत आर्थिक वर्षमा नगरपालिकाको बजार क्षेत्रमा सीसी क्यामरा जडान गर्न ४० लाख र प्रदेश सरकारले ६९ लाख बजेट विनियोजन गरेको थियो,’ ढकालले भने, ‘प्रदेश र नगरपालिकाको संयुक्त लागतमा एक करोड नौ लाख लागतमा अप्टीकल फाइबरसहित सीसी क्यामरा जडान गरिएको हो।’

नगरका १३ वटै वडामा फाइबर तारसहित सीसी क्यामरा जडानमा उक्त बजेट खर्च भएको ढकाल बताउँछन् । ‘नगरपालिका र वडा कार्यालयहरुको काम प्रभावित नहोस् भन्ने हेतुले आन्तरिक नेटवर्क (इन्ट्रानेट) सफ्टवेर विस्तार गरिएको हो’ ढकाल भन्छन्, ‘यसले सीसी क्यामरा र इन्टरनेट नभएको बेला इन्ट्रानेटबाट १३ वटै वडाको काम सहजै गर्न सकिन्छ ।’

सीसी क्यामराका लागि नगरभित्र ५६ किलोमिटरमा फाइबर तार विस्तार गरिएको छ । उपत्यका ८९ ठाउँमा गत असारमै सीसी क्यामरा जडान गरिएको छ । यी मध्य ७३ ठाउँका सीसी क्यामरा सञ्चालनरत छन् । बाँकी ६ स्थान चिसापानी, लाटीकोइली, धुलियाविटमा सडक विस्तारका क्रममा ट्रकले तार चुडाएपछि मर्मतको क्रममा रहेको ढकालको भनाई छ ।

केही समयमा ८९ वटै क्यामरा सञ्चालन ल्याउने गरी काम भइरहेको उनले जनाए । मुख्य चार नाका कपासे, धुलियाविट, मंगलगढी चौक र बाँगेशीमलमा भने चारैतर्फ अटो घुम्ने र घटना भएमा जुम गरेर हेर्न मिल्ने सीसी क्यामरा जडान गरिएको छ ।

चालु आर्थिक वर्ष वर्ष थप २१ ओटा क्यामरा जडान गरेर एकसय १० पु¥याउने योजना रहेको नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले मर्मत र विस्तारका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

यसअघि सुर्खेत उद्योग बाणिज्य संघले बजार क्षेत्रमा सीसी क्यामरा जडान गरेको थियो । ति सीसी क्यामरा निकालेर फाइबरसहितको नयाँ सीसी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ। संघले जोडेका क्यामरा मध्य कति राम्रा छन् जाँच गरेर थप स्थानमा क्यामरा जडान गर्ने नगरपालिकाको भनाई छ ।

२४ सैं घण्टा प्रहरीको निगरानी
जिल्ला प्रहरी कार्यालय सुर्खेतले सीसी क्यामराको निगरानी गर्न कार्यालयको कन्ट्रोल कक्षमा १० जना जनशक्ति खटाइएको छ ।

बजारमा कुनै घटना भएमा तत्कालै रिस्पोन्स गर्नेगरी प्रहरीको आफ्नै सञ्चार कक्ष र सीसी क्यामराको निगारानी टोलीले समन्वय गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘सईको कमाण्डमा २४ सैं घण्टा प्रहरीले सीसी क्यामराको निगरानी गरिरहेको छ,’ एसपी भट्ट भन्छन्, ‘यसले उपत्यकामा हुने अपराधिक घटना र सडक दुर्घटना रोक्नमा ठूलो टेवा पुगेको छ ।’

( नेपाली रैबार )