बालिका बिक्री गर्न खोज्ने आरोपित पक्राउ

झापा – बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ । प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका आरोपितलाई आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद धमलालले बताए । पीडितहरुको उद्धार भई घर फर्किएपछि उनीहरुका बुवाले संयुक्तरुपमा आइतबार दिएको मानव बेचविखन तथा ओसारपसार विरुद्धको उजुरी दर्ता गरी एक जना आरोपितलाई पक्राउ गरिएको हो।

यहाँका १३ र १४ वर्षीया बालिकालाई बेचविखन गर्न भारत लगेको आरोपमा सलाम पक्राउ परेको र अर्का आरोपित हनुमाननगर कंकालिनी–६ का २० वर्षीय ओमप्रकाश चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । दसैंको मेला हेर्न राजविराज आएकी बालिकाहरुलाई आरोपितले ललाइफकाइ कात्तिक १० गते राति शम्भुनाथस्थित चौधरीको सानीआमाको घरमा लगेर राखेका थिए । बिहेको प्रलोभन दिई लगेका आरोपितले कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाएर भारत बिहारको करियौत पुर्‍याएको पछि थाहा पाएको पीडितहरुले बताए ।

करियौतका स्थानीयवासीले शंका लागी सोधपुछ गर्दा आरोपित फरार भएपछि उनीहरुले पीडितका परिवारका सदस्यलाई सम्पर्क गरी जिम्मा लगाएको पीडित परिवारले जानकारी दिए ।
यसअघि बेचविखनमा परेकी १५ वर्षीया बालिकाकी आमाले डाक्नेश्वरी नगरपालिका–३ का ४२ वर्षीया भदियादेवी मलाह, ४५ वर्षीय उतिमलाल मलाह र १९ वर्षीय सन्तोष मुखियाविरुद्ध अपहरण गरी बेचविखन गर्न भारत पुर्‍याएको भन्दै गत असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

स्थानीय व्यक्तिको सहयोगमा बाल संरक्षण एकाइ समस्तीपुरमा एक वर्षसम्म आश्रय लिएकी बालिकाको उद्धार भई घर फर्किएपछि आरोपितमध्ये भदियादेजी गत असोज २३ गते पक्राउ परेकी हुन् ।