आईपीएल क्रिकेटमा कोलकाता र चेन्नईको सहज जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा हिजो कोलकाता नाइट राईडर्स र चेन्नई सुपर किङ्स विजयी भएका छन् ।

युएईको दुबईमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।

उसका लागि इओन मोर्गानले अविजित ६८ रनको पारी खेले । जवाफमा १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाउन सफल भयो ।

राजस्थानलाई सस्तैमा समेट्न कोलकातामा प्याट कुमिन्सले ४ विकेट लिए । जितसँगै कोलकाताले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राखेको छ ।

हिजै भएको अर्को खेलमा चेन्नाई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबलाई ९ विकेटले हराएको छ ।

पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा विजय लक्ष्य पार गर्‍यो ।

चेन्नईसँगको हारसँगै पन्जाब प्ले-अफको होडबाट बाहिरिएको छ ।