सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप

सुर्खेत – कर्णाली प्रदेशको पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले चारवटा नयाँ स्वास्थ्य इकाइ थप गरेकोछ । पञ्चपुरी नगरपालिकामा स्वाथ्यको पहुँचमा पुग्न एक घण्टाभन्दा बढि समय नलागोस भनेर स्वाथ्य इकाइ थप गरिएको हो ।

नागरिकले सहजै स्वाथ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले यहाँ चारवटा नयाँ स्वास्थ्य इकाई थप गरिएको नगरपालिकाले जनाएको छ । पहिले यहाँका नागरिक लामो समय हिडेर उपचारकालागि आउनु पर्ने बाध्यता थियो । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापाले भने, ‘स्वास्थ्य इकाइमा पुग्नको लागि एक घण्टा भन्दा बढि समय नलागोस भन्नेर छाप्रेमा दुईवटा स्वाथ्य इकाइ थप गरेका छौँ।’ यसका साथै विद्यापुरको दह सान्नेमा एउटा र तातापानिमा एउटा स्वास्थ्य इकाई थप गरिएको उनको भनाई छ ।

स्वास्थ्यमा अझै पनि समस्या छ’, उनी भन्छन्, ‘ घर भाडामा लिएर कर्मचारी नियुत्ति गरेका छौं ।’ वडा नम्बर ७ साविकको छाप्रे गासबिस भौगोलिक बिकटता भएको वडा हो । दुर्गमताका कारण यहाँका नागरिक उपचारका लागि ३ देखि ४ घण्टा हिड्नु पर्ने बाध्यता थियो । सुगम ठाउँमा कर्मचारी बस्न मान्छन् दुर्गममा बस्न मान्दैनन् । साथै प्रदेश र संघिय सरकाले स्वास्थ्यका क्षेत्रमा कुनैपनि पहल नगरेको उनको भनाइ छ ।

‘सबैभन्दा पहिले मान्छे स्वस्थ हुनुपर्छ, ‘उनी भन्छन्, ‘प्रदेश सरकार र संघिय सरकारले पनि स्वास्थ्यका क्षेत्रमा प्राथामिकता दिनु पर्छ।’ हाल पञ्चपुरी नगरपालिकाले स्वाथ्यका क्षेत्रमा करिब २ करोड बजेट छुट्याएको छ । कर्मचारी नियुत्ति, सुत्केरी प्रोत्साहान भत्ता, औषधि खरिद जीर्ण भएका भवन मर्मतसम्भारमा सो रकम खर्च गरिने नगरप्रमुख थापाले बताए ।