लण्डन – विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् ।
सङ्घका स्वास्थ्य समिति संयोजक डा.सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।
हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ । गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।