‘प्जाज्मा दान’ गर्न तयार छुः मेयर शाक्य

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् । केही समयअघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको र यस्तो काममा सहयोग गर्न अपिल गरेका हुन् ।

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिए ।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहनुभएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षिया महिलाको उपचार भैरहेको छ । ‘काठमाडौँ उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ । यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनु भएका र स्वस्थ मानिसलाई प्जाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भनेका छन् ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधी त्यही हुन्छ ।’