अमेरिकामा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा बढिमा संक्रमण पुष्टि

अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः अति तीव्र गतिमा बढिरहेको छ ।

बिहीबार एकैदिन अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का अनुसार बिहीबार एकै दिन ९० हजार १५५ जनामा संक्रमण पुष्टि भयो भने एक हजार ५५ जनाको कोभिड–१९ का कारण ज्यान गयो ।

पछिल्लो एक हप्तामा चार दिन ८० हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।
अमेरिकाभर पछिल्ला दिनमा संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढ्दो क्रममा देखिएको छ ।

शुक्रबार अमेरिकामा कुल संक्रमितको संख्या ९० लाख भन्दा बढि पुगेको छ । मात्रै १४ दिनमा १० लाख संक्रमित थपिए । महामारी सुरु भएयता सबैभन्दा छिटो १० लाख संक्रमित थपिए अर्थात ८० लाखबाट ९० लाख भन्दा बढी संक्रमित पुगे ।

जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ९० लाख ३४ हजार तथा मृत्यु हुनेको संख्या दुई लाख २९ हजार पाँच सय पुगेको छ ।

बिहीबार इलिनोइज, इन्डियाना, मेन, मिसिगन, मिनेसोटा, न्यू मेक्सिको, नर्थ क्यारोलाइना, नर्थ डाकोता र ओहायोसहितका राज्यमा एकै दिन अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भए । सिडिसीका अनुसार सात दिनको औषत संक्रमण दर झण्डै ७७ हजार पुगेको छ ।

राष्ट्रपति चुनावको दिन नजिकिँदै जाँदा अस्पताल भर्ना हुनु पर्ने संक्रमितको संख्या पनि बढ्दो क्रममा देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ । नोभेम्बर तीनमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौती दिँदै छन् ।

ट्रम्पले भिडभाड युक्त चुनावी सभा जारी राखेका छन् र त्यसको आलोचना हुने क्रम पनि जारी छ । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले भने भौतिक दूरी कायम गरी तुलनात्मक रुपमा साना सभा गर्ने गरेका छन् ।